काठमाडौं - गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ को आयोजनमा बिहीबार रूपन्देहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले अगाडि बढिसकेको कुनै पनि समाज पछाडि नफर्कने बताए ।

लोकतन्त्र विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताउँदै लेखकले कांग्रेस लोकतन्त्र र संविधानको सुरक्षाका लागि दृढताका साथ अघि बढ्ने जानकारी दिए ।

‘लोकतन्त्रमा कमी कमजोरी छैनन् भन्ने होइन कमजोरीहरू छन् तर त्यसलाई सुधार्दै अघि बढ्ने हो । लोकतन्त्रमा कमजोरी देखियो भनेर निरङ्कुशता तर्फ जाने होइन,’लेखकले भने, ‘लोकतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । कुनै निरङ्कुश व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ ।’

गृहमन्त्री लेखकले लोकतन्त्रका लागि कांग्रेसले ८ दशकसम्म गरेको सङ्घर्ष गरेको पनि स्मरण गराए ।