काठमाडौं - प्रधानमन्त्री केपी ओलीले भोलि (शुक्रबार) काठमाडौंमा हुने प्रदर्शनलाई सामान्य रुपमा लिएका छन् ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १०-१५ हजारका जुलुस सधैं निस्किन्छन् भोलि हुने पनि त्यही हो भन्दै वास्ता नगर्न पनि आग्रह गरे ।

 ‘१०- १५ हजारका जुलुस निस्कनु सामान्य हो । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’ के-के न हुने भनेर त्रास नफैलाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

काठमाडौंमा सधैं सभा र जुलुस हुने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले  यस्ता कुरालाई वास्ता नगरेर  विकासका काममा अघि बढ्न आग्रह गरे ।

चैत १५ गते भोलि समाजवादी मोर्चामा संलग्न दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् भने राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । राजावादीहरुको प्रदर्दशनलाई टक्कर दिन मोर्चाले पनि त्यही दिन कार्यक्रम राखेको हो । यसले जनतामा भने एक किसिमको त्रास बढाएको छ ।