काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएकोबारे जवाफ दिइसकिएको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार गरेको कार्यक्रममा ओलीले विपक्षीले जो भन्यो त्यही नियुक्ति गर्ने सरकारको काम नभएको बताए ।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ, ओलीले भने, ‘उहाँहरुलाई सहयोग हुने, उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले रोस्टममा उभिएर जवाफ नदिएसम्म सदन चल्न नदिने माग गरिरहँदा ओलीले यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरुले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे ।
विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’


0 comment