काठमाडौं - सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग छलफल गरेका छन्।

कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिए विपक्षी दलहरुले बुधबारको संसद्  बैठक सुरु भए लगत्तै अवरोध गरेपछि त्यसलाई खुलाउन सभामुख घिमिरेले नयाँ वानेश्वरस्थित आफ्नो कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक सहभागी थिए ।

सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर संवाद सुरु गरेका हुन् ।विपक्षी दलहरूले घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।