काठमाडौं - सत्तारुढ दलले सदनमा रोकिएको भूमि अध्यादेशलाई अघि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सत्ता गठबन्धनको बैठकले  भूमिसम्बन्धी अध्यादेशलाई निष्क्रिय हुन दिने र नियमित विधेयकको रुपमा पेस गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीका प्रथम उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

सदनमा पेस गरेको ६० दिन पछि स्वत: निष्क्रिय हुन्छ। गत माघ १८ गते अध्यादेश सदनमा पेस गरिएको थियो । मधेसवादी दलहरुको विरोधका कारण भूमि अध्यादेशलाई थाती  राखेर बाँकी पाँच अध्यादेश सदनबाट पारित भइसकेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए। 'दलहरूबीच अध्यादेश अघि नबढाउने सहमति भएको छ,’उनले भने, ‘त्यसपछि नियमित विधेयकको रुपमा पेस गर्ने। पेस गर्दा शंका भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने।'