काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
बिचौलियाको स्वार्थमा परेर सरकारले कुलमान हटाउने निर्णय गरेको भन्दै माओवादीले निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको ठहर गरेको छ ।
पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने खालको भएको जनाइएको छ ।
साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति दुष्प्रचार गरिएको जनाउँदै माओवादीले विज्ञप्तिमा मार्फत त्यसको खण्डन गरेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बिचौलिया संरक्षणको श्रृंखलाअन्तर्गत सरकारले घिसिङलाई बर्खास्त गरेको निष्कर्ष निकालेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै घिसिङलाई बर्खास्त गर्ने निर्णयको विरोध गरेका हुन् ।
'दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको समाचारप्रति रास्वपाले ध्यानाकर्षण भएको जनाएको छ । यस्ता जनविरोधी कदमबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको रास्वपाको ठहर छ ।


0 comment