काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई अवसर दिइएको खण्डमा उनीहरुले देशको नेतृत्व गर्ने क्षमता राख्ने बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘महिला नेतृत्व : अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा  उनले महिलाहरु कमजोर नभई सक्षम र समृद्ध राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

मन्त्री यादवले नेपालको इतिहासमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र मुख्यसचिव जस्ता महत्त्वपूर्ण पदहरु महिलाले सम्हाल्दा सफलता हासिल गरेको समेत उदाहरण दिए। ‘यसबाट स्पष्ट छ कि महिलाहरु कमजोर छैनन्,’ उनले भने, ‘अवसर दिने हो भने महिलाले प्रधानमन्त्रीको पदसमेत राम्रोसँग सम्हाल्न सक्छन्।’

उनले महिला नेतृत्वको महत्वका बारेमा चर्चा गर्दै, खानेपानी उपभोक्ता महासंघको अध्यक्षसँग ४२ हजार उपभोक्तामध्ये १ हजार महिला अध्यक्ष अनिवार्य राख्ने निर्णय गर्न आग्रह गरे। यसले महिलाको नेतृत्वलाई प्रोत्साहन गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

यादवले यस अवसरमा नेपालमा महिलाहरु शिक्षामा धेरै अघि बढिसकेका छन् भन्ने तथ्यलाई पनि जोड दिएका छन्। महिलालाई समाजका सबै क्षेत्रमा बराबरी अवसर दिनुपर्ने र यसले देशको समग्र विकासमा ठूलो योगदान पुर्याउने वक्ताहरुले जोड थियो।