काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका- ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ ।
केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार डायलासिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो ।
स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिनका लागि गरिएको परीक्षण सफल भएको उनले बताए । विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउने र स्वीकृति पाउन केही समय लाग्ने उनले जानकारी दिए ।
सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको छ ।
डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरिरहेका छन् ।
डायलासिस सेन्टर स्थापना भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताए ।



0 comment