काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग भेटवार्ता गरेकी छन् ।

भारतको विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका देउवा र रिकीबीच आज (मंगलबार) भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरे । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिन रिहाका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जनाएकी थिइन् ।

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासहरुले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा परराष्ट्रमन्त्री देउवाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएका थिए ।