काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्र शाहले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको समेत चर्चा गरे ।
नेताहरूले उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो होला प्रचण्डको भनाइ थियो । गणतन्त्र ल्याउने बेलामा तत्कालिन ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको पनि उनले बताए ।
‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ प्रचण्डले भने, ‘उनले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो ।’
उनले पछिल्लो समय राजतन्त्र पुर्नस्थापनाको लागि भइरहेका आन्दोलनको कुनै औचित्य नभएको दाबी समेत गरे । ‘अहिले कलाविहीन नाटक प्रदर्शन भइरहेको छ, अध्यक्ष प्रचण्डले भने,‘यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्छ ।’
पूर्वराजालाई भिलेनको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले कुनैपनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन भिलेन पनि चाहिन्छ भिलेनको रोल राम्रो भएन भने हिरो सक्रिय हुने बताए ।


0 comment