काठमाडौं - नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाएका छन्। सोमबारको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै सिटौलाले उनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाएका हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैँले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रवन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गरे।

'म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ, उनले भने, ‘निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो । अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै हिँड्नु शोभनीय विषय भएन।' उनले लामो संघर्षको समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनु दुखद् भएको पनि बताए।

उनले पूर्वराजालाई राजनीतिमा आउन खोजेको हो भने खुला रुपमा आउन चुनौती दिए। साथै  जनतालाई भड्काउने काम नलाग्न पनि चेतावनी दिए।

परिवर्तनकारी राजनीतिक दलहरूमा दृढता पनि नदेखिएको भन्दै उनले संविधानको पक्षमा  राजनीतिक दलहरू एकपटक एकताबद्ध भएर उभिने बेला भएको बताए ।सिटौलाले जनताको हितमा हुन नसकेको व्यवस्थालाई संविधान संशोधन गरेर सुधार गर्न ढिलाई गर्न नहुने पनि बताए ।

'धेरै ठूलो संघर्षको नेतृत्व हामीले गरेका थियौँ। धेरै ठूलो रक्तपात भएको छ मुलुकमा, उनले भने, ‘हामीले गर्न सकेको कुरा भन्न सक्नुपर्छ नसकेको कुरा पनि प्रष्ट भन्नुपर्छ ।’

विश्वको बदलिँदो राजनीतिक प्रभाव नेपालले धेरै बेहोर्नुपर्ने देखिरहेको पनि सिटौलाको भनाइ छ।  पूर्वराजाको सक्रियता र राजावादीहरुको प्रदर्शनले पछिल्लो समय नेपालको राजनीतिमा केही तरंग पैदा भएको छ ।