काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको आइतबारको विशेष समय बोल्दै सांसद् घिमिरेले नेपालमा यौन व्यवसायलाई वैध बनाउँदा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो योगदान पुग्ने दाबी गरेका छन्।
धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको धारणा थियो। उनले देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको जिकिर गरे।
त्यस्तै, घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गरे। साथै, उनले गाँजा खेतीलाई वैधानिक गर्दा कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना हुने बताए। अमेरिकी राज्यहरूले यसलाई स्वीकृति दिएको भन्दै नेपालमा पनि हुनुपर्ने माग गरे।
सरकारले मात्रै मेडिकल कलेज चलाउनुपर्छ भन्ने मानसिकता बोक्दा देशबाट विद्यार्थी विस्थापित हुने गरेको भन्दै सांसद घिमिरेले मेडिकल शिक्षामा निजी क्षेत्रलाई रोक्न नहुने बताए।
‘प्राइभेट कलेज खोल्नै नदिने अवस्था छ, उनले भने,‘जसका कारण नेपाली विद्यार्थी विस्थापित भएर विदेश पढ्न जान बाध्य छन्।’ उनले सरकारी एकलाधिकारको मानसिकतालाई गलत भन्दै, यस विषयमा सुधारको आवश्यकता रहेको बताए।


0 comment