काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्मका भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

 अहिलेसम्मका भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरौं : गगन थापा

कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्‍बाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने बताए ।

उनले एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचारको छानबिनका लागि अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सकिने पनि बताए ।

उनले भने,‘समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी सबैलाई कारबाही गरौँ ।’ राजावादीप्रति लक्षित गर्दै महामन्त्री थापाले जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने बताए । पछिल्लो समयमा नागरिकहरूमा असन्तुष्टि बढेकाले यसलाई सरकार र नेताले गम्भीर भएर सोच्नुपर्ने थापाको भनाइ थियो।