काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजावादी सक्रिय हुनुमा स्वदेशी र विदेशी चलखेल मिसिएको आशंका गरेका छन् ।

प्रतिनिधिसभाक मंगलबारको बैठकमा उनले राजावादीहरू सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको समेत बताए । व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको दाहालको भनाइ छ ।

वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए । यस्ता चलखेल आजमात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले राजतन्त्र पक्षधरहरूले अहिलेको व्यवस्था पल्टाउन खोजेको भन्दै  त्यसकाविरुद्धमा लड्नुपर्ने अवस्था आएको बताए । गणतन्त्रका लागि हरेक ढुंगामा जनताको रगत बगेको उनले बताए ।

गणतन्त्र माओवादीले मात्र नभएर देशका सीमान्त जनताको बलिदानबाट आएको र यो व्यवस्थाभन्दा अर्को कुनै व्यवस्था राम्रो नहुने बताए । उनले भने, ‘गणतन्त्र माओवादीले मात्र नभएर देशका सीमान्त जनताको बलिदानबाट आएको हो र यो व्यवस्थाभन्दा अर्को कुनै व्यवस्था राम्रो हुँदैन ।’

साथै दाहालले बिचौलियाले सरकार चलाएको आरोप पनि लगाएका छन् । उनले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन् । अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको उनले बताए । कांग्रेस-एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको उनको भनाइ छ ।