काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौतालले राजतन्त्र पक्षधरहरूले नेपाली राष्ट्रिय गानको अपमान गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकको मंगलबारको विशेष समयमा बोल्दै उनले पञ्च्यायतीकालीन राष्ट्रिय गान गाएर विभिन्न कार्यक्रम गर्ने घटनालाई नेपालका राष्ट्रिय गानको अपमानको रूपमा व्याख्या गरे। यस्ता गतिविधि नेपालको संविधानसँग विपरीत रहेको भन्दै उनले यसलाई रोक्न माग गरे।

‘नेपालको संविधानको धारा १ र ५ को विपरीत, राजतन्त्र पक्षधरहरूले नेपाल र यसको राष्ट्रिय गानको अपमान गरिरहेका छन्,उनले भने, ‘यसलाई सरकारले गम्भीरतासाथ लिनुपर्छ।’

बर्तौलाले राजतन्त्र पक्षधरहरूले पोखरा र काठमाडौँ लगायतका स्थानमा पञ्च्यायतीकालीन राष्ट्रिय गान गाएका घटनालाई संविधानको उल्लंघनको रूपमा उल्लेख गरे। उनले राजतन्त्रको पुनःस्थापना हुने कुनै सम्भावना नरहेको र यस प्रकारको गतिविधि अब रोक्नुपर्ने धारणा व्यक्त गरे।