काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा सिके (चन्द्रकान्त) राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताएका छन् । 

बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्नपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै डा राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

समाजवादी राजनीतिक र आर्थिक अवस्थामा पुग्न प्रचुर उत्पादन बढाउनुपर्ने हुँदा त्यसको आधार तयार गर्न उत्पादनमुखी सामाजिक लोकतन्त्रको बाटो आफ्नो दलले लिएको उनको भनाइ छ । ््

हामी कहाँ पुँजीवादी क्रान्ति भएको छैन, अनि कसरी समाजवादमा पुग्ने ? भन्दै उनले अहिले आफ्नो दल उत्पादनमा जोड दिनेगरी ‘सामाजिक लोकतन्त्र’ सुदृढ गर्नुपर्ने निष्कर्षमा रहेको स्पष्ट पारे । 

मुलुकको निकास प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उनको भनाइ छ । त्यो राष्ट्रपति वा प्रधानमन्त्री जेमा सहमति हुन्छ, आफ्नो दललाई स्वीकार्य हुने डा राउतले बताए । 

सङ्घमा जस्तै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र संवैधानिक निकायका प्रमुखहरु जनअनुमोदित हुनुपर्ने उनको तर्क छ । आफ्नो दलले यसलाई ‘नौलो गणतन्त्र’ का रुपमा परिभाषित गरेको उनको भनाइ छ । पछिल्ला दिनमा राजतन्त्र फर्कने हल्ला वाहियात भएको उनले टिप्पणी गरे । 

आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले मुख्यतः जनआधारित पार्टी निर्माणमा जोड दिँदै सर्वकालिक कार्यकर्ता उत्पादनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । 

यसैगरी, विचार र कार्यक्रम मिल्ने अन्य दलसँग पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने र यसका लागि वार्ता गर्न पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको डा राउतले जानकारी दिए ।