काठमाडौं - एकीकृत समाजवादीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टी सचिवालय बैठकले  राजावादी शक्तिहरू सलबलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।

‘यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू जुन ढंगले सलबलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका विरुद्धमा षड्यन्त्र भइरहेका छन् , उनले भने, ‘ यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन ।'

चैत्र १ गते पत्रकार सम्मेलन गरेर रोजगारी र सुशासनको निम्ति गरिने आन्दोलनको रूपरेखाबारे जानकारी दिने बताइएको छ ।बैठकमा वर्तमान परिस्थितिबारेमा समेत छलफल भएको थियो ।