काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा सोमबार आयोजित एक कार्यक्रममा उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए ।

त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने धारणा पनि राखे । उनले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए । ‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेसन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए । आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ । ‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भए पनि नभए पनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जीविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

नदी प्रणाली सुधार्न सेफ्टिक ट्यांकी
त्यस्तै, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले उपत्याकाको नदी प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको बताए । ‘यहाँको नदी प्रणाली सुधार गर्नुपर्यो । सिंहदरबार जाँदा धोबीखोला गन्हाउँछ । विष्णुमति, धोबिखोला किनारमा पनि अवस्था उस्तै छ । यसको सुधार सरकारले मात्र गरेर हुन्छ ? सबैले चासो राख्नुपर्यो,’ उनले भने, ‘बागमती, विष्णुमति, धोबीखोलालगायत नदीनाला ढलमा परिणत भइरहेको छ । यसलाई रोक्न आफ्नो घरको ढल नदीमा नपठाउने काममा सजग हुनुपर्यो ।’

उनले हरेक घरमा र नभए सम्भव हुने ठाउँमा सेफ्टिक ट्यांकी बनाउनुपर्ने बताए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले नदीकिनारमा अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने बताउँदै उनले त्यसका लागि सरकारले काम अघि बढाउँदा नागरिकले साथ दिनुपर्नेमा जोड दिए ।