काठमाडौं - नेपाली कांग्रेसले आइतबार 'मिसन रोजगारी' अभियान सुरु गरेको छ।  जसको उद्देश्य देशमा बढ्दो बेरोजगारीको समस्या समाधान गर्नु भएको बताइएको छ। विशेष गरी, युवा वर्गलाई रोजगारीका अवसर प्रदान गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइने जनाइएको छ।

'मिसन रोजगारी' अभियानले बेरोजगारीका क्षेत्र र सम्भावनामा बहस गरेर समाधानका उपाय खोज्ने कार्यलाई प्राथमिकता दिने कांग्रेसले जनाएको छ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले अभियानका बारेमा जानकारी दिँदै बेरोजगारीका कारण देश छाड्ने युवा शक्तिलाई योग्यता अनुसारको काम दिएर रोक्न खोज्नु नै मुख्य उदेश्य भएको बताए ।  रोजगारी सिर्जना हुने कतिपय क्षेत्रमा विदेशी कामदारले आएको तर हामीकहाँ दक्षताको अभाव रहेको पनि उनले बताए ।

विदेशीले रोजगारीमा पाउने तर नेपाली युवाले किन रोजगारी पाउन नसकिरहेको अवस्थाबारे अध्ययन गरिने कांग्रेसले जनाएको छ ।

महामन्त्री थापाले भने, ‘नेपालमा रोजगारी छैन भन्ने दाबी गर्दा हामीले यो बुझ्नुपर्छ कि कति क्षेत्रमा विदेशी कामदार आउँछन् र हामीसँग दक्ष जनशक्तिको अभाव छ।’

कांग्रेसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दृषटिकोनबाट रोजगारीका समस्या र समाधानको पहिचान गर्न थिंक ट्यांक, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने योजना बनाएको छ।

विषयगत छलफलका लागि फरक फरक क्षेत्रका व्यक्तिहरू आमन्त्रण गरेर बहस गरिएको थियो ।   अर्थविद् विश्व पौडेल, श्रम मन्त्रालयका पूर्व सचिव केवल भण्डारी, र अन्य विज्ञहरूले रोजगारीको समस्याबारे सुझाव दिएका थिए।

कांग्रेसको 'मिसन रोजगारी' अभियानले नेपालको रोजगार समस्यामा सुधार ल्याउन र युवालाई अधिक अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। एक वर्षसम्म चल्ने अभियानका दौरान, कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद गरेर समस्याको पहिचान गर्ने र त्यसको समाधानका उपायहरू प्रस्तुत गर्नेछ।