काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको दाबी गरेका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारणसभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेस जागरण अभियानमा क्रियाशील छौं,’ उनले भने, ‘अभियानमा सम्पूर्ण पार्टीपंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले असली पार्टी त माओवादी नै रहेछ भन्ने अनुभव गर्न थालेका छन् ।’
सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए । ‘हामी राम्रो काम गर्दै थियौं, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन,’ अध्यक्ष दाहालको दाबी छ, ‘मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठुलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’
हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा निर्माण रोकिएको हुलाकी राजमार्ग भारतसँग कुराकानी गरी हुलाकी राजमार्गको उद्घाटन आफैंले गरेको थिएँ । त्यसैले अहिले पनि त्यहाँका जनतामा माओवादीप्रतिको विश्वास बलियो बनेको छ । माओवादीले जे भन्छ, त्यो गर्छ भन्ने अनुभूति उनीहरूमा छ ।’
दाहालले माओवादी केन्द्रले अभियान केही दिन रोक्दा पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको बताउँदै त्यसले अभियानको प्रभाव स्पष्ट देखिएको उल्लेख गरे । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनले बताए ।
‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ दाहालले भने ।
काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले जानकारी दिए । साथै, भोलि (सोमबार) बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने उनले बताए ।
नेपाली जनप्रगतिशील मञ्च जापानले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष दाहालले गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्य माओवादी केन्द्र नेतृत्वको सरकारले गरेको तथ्यलाई थप स्थापित गर्न आग्रह गरे ।


0 comment