काठमाडौं - परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपालमा महिलाका लागि धेरै कानुनी उपलब्धि भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।  

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । “अधिकार प्राप्त गर्नु मात्र पर्याप्त छैन, ती अधिकारको सदुपयोग गर्न महिलाहरू आफैं सक्षम हुनुपर्छ, उनले भनिन्, ‘समाजले अधिकार दिन्छ भन्ने सोच राख्नु गलत हो, महिलाहरूले आफैं सक्षम भएर अघि बढ्नुपर्छ।’

महिला विभाग प्रमुख पुष्पा भुसालले समानता र अधिकारका मुद्दामा मात्र केन्द्रित नभई तिनको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। उनका अनुसार अझै पनि ४२ वटा कानुन महिलामैत्री छैनन्, जसले लैंगिक विभेदलाई निरन्तरता दिने खतरा छ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले महिलाहरूको हकहितमा गरेका कामहरू उजागर गर्दै अब नीतिगत सुधार आवश्यक रहेको बताइन्। उनले समानता र सशक्तीकरणका लागि महिलाहरूले आफैं जागरूक हुनुपर्ने उल्लेख गरिन्।

अन्य वक्ताहरूले पनि नेपालमा महिला अधिकारमा उल्लेखनीय प्रगति भए पनि अझै चुनौतीहरू बाँकी रहेको बताउँदै कानुनी सुधार, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि निरन्तर पहल आवश्यक रहेको धारणा राखेका थिए।