काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया नियन्त्रणका लागि नभई अराजकता नियन्त्रण गर्न ल्याउन लागिएको स्पष्ट पारेका छन्।
प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहमा उनले विधेयकका कमजोरी सच्याउन आफू तयार रहेको बताए। ‘बलियो सरकार हुँदा सुधार र कार्यान्वयन गरौं, पछि सम्भावना कम हुन्छ,’ उनले भने।
ढकालले आगामी वर्ष दुईपटक सरकार परिवर्तन हुने दाबीसमेत गरे। उनका अनुसार, ‘२०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्छ र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन्छ।’
उनले ओली र देउवाबीच समझदारी कायम रहुन्जेल सरकारमा ठूलो परिवर्तन नआउने धारणा राखे।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको भन्दै सामाजिक सञ्जाल विधेयक मिडियामैत्री हुने दाबी गरे।
समारोहमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनुपर्नेमा जोड दिए।


0 comment