काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयका वरिष्ठ सहसचिव डा. संगिता मिश्रलाई सचिवमा बढुवा नगरेर सरकारले संविधान च्यात्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले डा. मिश्रसँग आफ्नो कुनै चिनजान नभए पनि उनी मधेसीको आस्थाको प्रतिक भएको बताए । संगिता मिश्रको गल्ती मधेशमा जन्मिनु थियो कि महिला भएर ? भनी सिंहले प्रश्न समेत गरे । 

कुलमानलाई जस्तै डा. मिश्रलाई पनि सरकारले त्यस्तै व्यवहार भन्दै स्वास्थ्य मन्त्रीको राजीनामा समेत माग गरे । साथै उनले प्रधानमन्त्रीले तत्काल स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न संसद मार्फत ध्यानाकर्षण पनि गराए । उनले भने, स्वास्थ्य मन्त्री मैले पढाएको विद्यार्थी हो ।तर, उहाँले भन्नु भएको छ कि यो मन्त्रालयमा कुनै शाखामा प्रमुख भएर मधेसी रहँदैन, मलाई सरकारप्रति संका छ।’

उनले यही कांग्रेस-एमालेको सरकारले माघ १९ को घटना गरेको गम्भीर आरोप समेत लगाए । फेरि प्रतिगमनकारीसँग मिलेर मधेसी,दलित, जनजाति र महिलाहरुलाई संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै कुल्चदै एकल जाति एकल समुदायको नेतृत्व गर्न खोजेर प्रतिगमन आह्वान गर्न खोजेको उनको आक्रोस थियो ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले डा. विकास देवकोटालाई नियुक्ति गरेको थियो । सिफारिस समितिले डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेकी डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।