काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्न प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । बढीमा १० लाख रुपैयाँसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिनेछ ।

गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई एक प्रतिशत ब्याज अनुदान दिनेछ । हाल बैंकको आधारदर पाँच दशमलव ४४ प्रतिशत छ । यो कर्जा लगानीपश्चात कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोगारमा बृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका २ का वडाध्यक्ष तीर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख अच्युत गौतमलगायत कर्मचारीको उपस्थिति थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ छ ।