काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्। ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’नाम पुस्तकको सोमबार काठमाडौंमा लोकार्पण गर्ने क्रममा उनले यस्तो सुझाव दिएकी हुन् ।

यद्यपि उनले कम्युनिष्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको भन्दै  त्यसको सरहाना गरिन्।

राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने उनले उल्लेख गरिन् । 
बहुलवाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका कुशल नेतृत्वकर्तामध्येका एक भएको समेत बताइन् ।

आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकत अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी समेत रहेको चर्चा गर्दै प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको बताइन्।