नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छाडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटकपटक स्पष्टीकरण सोध्नु शोभनीय नभएको बताए ।

‘काम कुरो एकतारि कुम्लो बोकी ठिमीतिर भनेझैं सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ,’ बस्नेतले भने । उनले सरकारले आफ्नो अक्षमता लुकाउन कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण सोध्ने गरेको बताए । दुईतिहाइको बहादुरी एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन सरकारलाई सुझाव पनि दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बस्नेतले बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तनका एजेन्डालाई सीमित गर्न लागिपरेको उनको भनाइ छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखापरेको बताए । बस्नेतले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेन्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मूल मर्मअनुसार काम हुन सकेको छैन ।’

सरकार आफैंले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताए । संसद् नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको दाबी गरे ।

उनले अर्को प्रसंगमा आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए । अभियानमा जनताको सहभागिता उल्लेख्य रहेको उनको भनाइ छ ।