काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दाबी गरेका छन् ।
धनुषाको कमला नगरपालिका ३, पर्सामा आइतबार आयोजित सहिद परिवार सम्मान तथा भेटघाटमा उनले यस्तो धारणा राखेका हुन् । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको र मधेसी जनताको मुक्तिका लागि १३ सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनको भनाइ छ ।
मधेसी जनताको मुक्तिका लागि यति ठुलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै दाहालले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको दाबी गरे ।
मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्नेलगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्ण रुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोसाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोसाक मात्रै नभई आफूहरुको मन पनि मधेसमा छ भन्ने बिम्ब भएको स्पष्ट गरे ।


0 comment