काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा पेश गरेका अध्यादेशहरू पारित हुने बताएका छन्।
पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रभावकारी बनाउन ल्याइएका अध्यादेशहरू आवश्यक भएकाले पारित गर्नुपर्ने बताएका हुन्।
मन्त्री गुरूङले स्वास्थ्य र शिक्षाजस्ता क्षेत्र अस्तव्यस्त भएकाले सुधारका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे। ‘हामीले जनता के गर्दा खुसी हुन्छन् भन्ने सोचेका छौँ, त्यसैले यो कदम चालेका हौँ,’ उनले भने। मन्त्री गुरुङले नेपालको कानुनी संरचनामा सुधार आवश्यक रहेको बताउँदै संसद्बाट विधेयक पारित गर्न वर्षौं लाग्ने भएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको स्पष्ट पारे ।
सरकारले संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै उनले संसद् सुरू हुनुअघि नै अध्यादेश ल्याइएको बताए। ‘संसद् छलेर ल्याइएको होइन, संसदमा पारित गराउन ल्याइएको हो,’मन्त्री गुरूङले प्रस्ट पारे।
उनले हिमालय आँखा अस्पताललाई सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अस्पतालको भौतिक पूर्वाधार तथा अन्य आवश्यक विषयमा सरकारको सहयोग रहने बताए।
सामाजिक सञ्चालको दुरुपयोग रोक्न ल्याइएको विधेयकबारे बोल्दै मन्त्री गुरूङले राष्ट्र, जनता, व्यवस्था, शान्ति सुव्यवस्था, र राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधि रोक्न यो आवश्यक भएको जिकिर गरे। उनले सरकार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता हनन गर्न नचाहेको भन्दै विधेयकमा आवश्यक परिमार्जन हुन सक्ने संकेत दिए।


0 comment