काठमाडौं - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा धेरै बिरामीले सेवा लिने अस्पतालहरूमध्ये एक हो। प्रतिष्ठानको तथ्याङ्कअनुसार, दैनिक ३,५०० बिरामीहरूमध्ये झण्डै ३० प्रतिशत भारतीय नागरिक रहेका छन्।

प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवाको विस्तार गर्दै आवश्यक पूर्वाधार निर्माण र आधुनिकीकरणलाई तीव्रता दिएको छ। हालै निर्माण सम्पन्न ४०० शय्याको ‘एमसीएच’ भवन आगामी महिना उद्घाटन गरी मातृशिशु सेवा सञ्चालन गर्ने योजना रहेको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए। उनले उक्त भवन निर्माणका क्रममा विभिन्न आरोह–अवरोध पार गर्दै सम्पन्न गर्न सफल भएको बताए।

त्यस्तै, प्रतिष्ठानले आईसीयू शय्या ३२ बाट ७४ पुर्‍याएको र डायलाइसिस सेवा १० शय्याबाट २३ शय्यामा विस्तार गरेको छ। फार्मेसी भवन, ‘पीजी’ होस्टल, र अत्याधुनिक आपत्कालीन (इमर्जेन्सी) सेवा सञ्चालनमा ल्याएको उपकुलपति गिरीले बताए।

डा. गिरीले २०७६ चैत २६ गते उपकुलपतिमा नियुक्त भएपछि कोरोना महामारीको कठिन समयमा १५ महिनामै १०० शय्याको अस्पताल निर्माण गरी सञ्चालन गरेको उल्लेख गरे। उनले सरकार तथा अन्य संस्थाहरूको सहकार्यमा करोडौँ मूल्यका आधुनिक उपकरण थप्दै दशकौँ पुराना उपकरण विस्थापित गरिएको बताए।

उपकुलपतिले १,३०० शिक्षक तथा विद्यार्थीको बढुवा प्रक्रिया सम्पन्न गरेको, रोकिएको कम्भोकेसन सुरु गरेको, सिनेट बैठक नियमित बनाएको, र नीतिगत सुधारहरू लागू गरेको बताए। प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको तलबभत्ता सरकारले व्यवस्था नगर्दा आफैं कमाएर व्यवस्थापन गर्नुपरेको गुनासो गर्दै उनले स्वास्थ्य बिमाको ५० प्रतिशत रकम अझै रोकिएको जानकारी दिए।

प्रतिष्ठानले हाल विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धान गरिरहेको छ। चिकित्सा शिक्षा आयोगले २०७४ सालमा लगाएको कानुनी बन्देजका कारण विदेशी विद्यार्थी भर्ना रोकिँदा आर्थिक समस्या परे पनि हालै सरकारले पोस्ट ग्राजुएट तहमा १० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्न अनुमति दिएको उनले जानकारी दिए। यसबाट प्रतिविद्यार्थी रू. २ करोड आम्दानी हुने उनले उल्लेख गरे।

उपकुलपतिका अनुसार प्रतिष्ठानले मुटु, क्यान्सर, र जलनसम्बन्धी (बर्न) सेवा विस्तार गर्ने, सिनेट बैठक बोलाएर कर्मचारी नियमावली अनुमोदन गर्ने, र भारत सरकारको सहयोगमा सम्पूर्ण सेवाहरू डिजिटलाइज्ड गर्ने योजना अघि सारेको छ। ट्रमा सेन्टर तथा ट्रान्सप्लान्ट सेवा सुरु गर्नसमेत प्रक्रिया अघि बढिसकेको उनले बताए।

डा. गिरीले कार्यकालको पहिलो आधा समय विभिन्न विवाद र मुद्दाहरू समाधान गर्नमै बितेको बताए। अनुशासनहीन कर्मचारी तथा आर्थिक अनियमितता नियन्त्रण गर्न कडा कदम चालेको, सेवाहरूलाई डिजिटलाइज्ड गर्दै आर्थिक चुहावट रोक्न सफल भएको र प्रतिष्ठानलाई सुधारको बाटोमा अघि बढाएको उनको भनाइ छ।

सन् १९९३ जनवरी १८ मा स्थापना भएको यो प्रतिष्ठान १९९८ अक्टोबर २८ मा स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिएको थियो। भारत सरकारको सहयोगमा स्थापित प्रतिष्ठान नेपाल-भारत सहकार्यको सफल उदाहरण बनेको उपकुलपति गिरीले बताए।