काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी देउवा आज स्वदेश फर्किएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।
देउवाले गत मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । त्यस सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।
नेपाल फर्किएपछि परराष्ट्रमन्त्री देउवाले मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।
संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग देउवाले आग्रह गरिन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उहाँहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको परराष्ट्रमन्त्री देउवाले जानकारी गराइन् ।
भ्रमणका क्रममा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार देउवाले जेनेभामा रहँदा स्विट्जरल्यान्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायत मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयमा छलफल गरेकी थिइन् ।
भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका पदाधिकारीसँग पनि परराष्ट्रमन्त्री देउवाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।
देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन् । उनीसहितको प्रतिनिधिमण्डल आज बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम थियो । यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि देउवा अपराह्न मात्र काठमाडौं आइपुगेकी थिइन् ।


0 comment