काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने धारणा राखे ।
उनले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए । नेपाल र जापानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘युद्धले विनाश गर्छ । शान्तिले विकास गर्छ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रबल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन्,’ उनले भने, ‘शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यातजस्ता कुराको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौं । अब विकासको साझेदारीका लागि आईटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौं ।’
प्रधानमन्त्री ओलीले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताए ।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।


0 comment