काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए ।
‘अहिले एक सिफ्टमा भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’
ल्याब क्षमता वृद्धि
निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए । ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौं,’ उनले भने, ‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।’
डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता बढाएर ३२ पुर्याइएको पनि जनाए । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’
अस्पतालको सफाइका लागि काम सुरु
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भैरहेको निमित्त निर्देशक गौतमले बताए । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’
डा. गौतम एक साताअघि मात्र वीरको निमित्त निर्देशकको जिम्मेवारीमा आएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका हुन् । यस अवधिमा पनि वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले भनेका थिए । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताए ।



0 comment