काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक युथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत् खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ । ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पार्लियामेन्टको निर्वाचन हो । राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्तिविकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्न पनि स्ववियु निर्वाचन आवश्यक छ,’ उनले भने ।
त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘तपाईंहरू जित्नेगरी स्ववियु तयारीमा जुट्नुहोस् । विद्यार्थीहरूको मन जित्ने काम गर्नुहोस् । पार्टी पूर्ण रुपले नेविसंघको साथमा छ । कांग्रेस र यसका भ्रातृ संस्थाले तपाईंहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्,’ उनले भने ।
वैधानिक रुपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्व विद्यालय र सरकार थप गम्भीर भएर काम गर्न आवश्यक रहेको उनले बताएका छन् । कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएको खण्डमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ ।
‘विद्यार्थी नेता र विद्यार्थीको हकहितका लागि काम गर्ने संस्था स्ववियुको निर्वाचन प्रभावित हुनु हुँदैन । यसमा विश्व विद्यालय र सरकार गम्भीर हुनुपर्छ । निर्वाचन कुनै बहानामा प्रभावित भएमा हामी कडा प्रतिवाद गर्ने छौं,’ उनले भने ।
समयमै नयाँ नेतृत्व चयन हुँदा त्यसमा ऊर्जा भरिएको हुने र क्याम्पस तथा विद्यार्थीको हकका लागि निकै लाभदायक हुने उनको भनाइ छ । ‘स्ववियुका माध्यमले नयाँ नेतृत्व चयन हुने र शिक्षामा गुणस्तरीयता कायम गर्न सहयोग समेत पुग्ने भएकाले, देशमा परिवर्तनको संवाहक बन्न, योग्य नेतृत्व लिन आकांक्षा बोकेर देशभर छरिएरका साथीहरू लाई चुनावमा होमिनुहोस् । स्ववियु जितेर तपाईंहरू नवीन ऊर्जाका साथ काम गर्नुहोला,’ उनले भने ।
लोकतान्त्रिक मुलुकमा वैधानिक रुपले तोकिएकै समयमा चुनाव हुन आवश्यक रहेको समेत महरले औंल्याएका छन् । यस्तो हुन सके मात्र प्रजातन्त्र र लोकतन्त्र बलियो हुने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन तालिकाअनुसार संघ-संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ । उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागु हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ ।


0 comment