काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा बल प्रयोग गरिए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् ।

‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले आन्दोलन दबाउने नाममा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।

बल प्रयोग गरेर इतिहास र पौराणिकतासँग सम्बन्धित भावनात्मक मुद्दा हल गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुने अध्यक्ष प्रचण्डको चेतावनी थियो ।

पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको जनाउँदै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । साथै उनले सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नु पर्ने बताए । 

आन्दोलनका क्रममा प्रदर्शनकारी मात्र नभएर थुप्रै प्रहरीसमेत घाइते भएको हुँदा यस विषयलाई सुल्झाउन वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा उनले जोड दिए । सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बस्न सोमबार पनि आह्वान गरिसकेको छ । आन्दोलनरत पक्षले कर्मचारीसँगको वार्ता टुंगोमा पुग्न नसक्ने भन्दै मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।