काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । सर्लाहीको लालबन्दीमा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित व्यापरिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘यहाँ जुन भवन बनेको छ यसको लक्ष्य युवाहरुले यहीँ बसेर आफूले उत्पादन गरेको सामग्री, खाद्यपदार्थदेखि सबै स्थानीय उत्पादनलाई मार्केटिङ गर्न एउटा स्थानका रुपमा यो भवन रहनेछ,’ सिंहले भने, ‘यसले लालबन्दी नगरपालिकालाई मात्र नभएर आजकालको आधुनिक व्यापारिक मोडल छ त्यसलाई युवाहरुले उपयोग गरे संसारभर प्रचार गर्नसक्छन् ।’

उपप्रधानमन्त्री सिंहले लालबन्दीमा निर्मित भवन उद्घाटनलगत्तै नगरपालिकालाई हस्तान्तरण गरेका थिए । उनले अर्थतन्त्र चलायमान बनाउन गर्नुपर्ने काम सहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्यअनुसार काम अघि बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । ‘अर्थतन्त्र चलायमान बनाउन यहाँ भएको गतिविधिले सकारात्मक सन्देश जाने गरी यहाँहरुले काम गर्नुहुनेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।

सहरी विकास मन्त्रालय मातहतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको भवन तीन तलाको छ । जसमा भुइँतलामा १७ वटा व्यापारिक सटर, पहिलो तलामा ३ वटा च्याम्बर कोठा, तेस्रो तलामा एउटा च्याम्बर कोठा र हल, सबै तल्लामा महिला/पुरुष शौचालय छ । भवन ५ करोड ४१ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।