काठमाडौं - एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सोमबार पत्रकार सम्मेलन गरी सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

सहकारी ठगी, मिटरबाजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको जनाउँदै नेकपा एसले त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गरेको छ ।

मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको जनाइएको छ ।

पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ । समाजवादीले सरकारले जारी गरेको अध्यादेश जनताको हितमा नभएको पनि ठहर गरेको छ। सरकारले ल्याएका ६ वटै अध्यादेश संविधान, ऐन–कानून, संसद नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन गरेको  केन्द्रीय कमिटी बैठकले ठहर गरेको जनाउँदै त्यसको विपक्षमा मत जाहेर गर्ने महासचिव भुसालले जानकारी दिए।

त्यस्तै एकीकृत समाजवादीले केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। फागुन ९ र १० गते चलेको केन्द्रीय कमिटिको बैठकले यी लगायत १८ निर्णय गरेको छ।