काठमाडौं - राष्ट्रिय मातृभूमि पार्टीले देशव्यापी रुपमा भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने कार्यतालिका अन्तर्गत शनिवार पहिलो दिन सांकेतिक रुपमा शान्तिवाटिकामा भेला भई भ्रष्ट संसदीय व्यवस्था खारेज गर, जागौ नेपाली, उठौं नेपाली भ्रष्टाचार र बेथितिको लागि जुटौ नेपाली, घटा सरकार इन्धनको कर, तुरुन्त मंहगी नियन्त्रण गर, झाडुकुचो लाउछौं, भ्रष्टाचारी बढार्छौ, लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर, कुशासन र भ्रष्टाचारको विरोध गरौं, सुशासन र सदाचार कायम गरौं, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर, अति भो भ्रष्टाचार र महंगीको मार, लुटेरा सरकार राजिनामा गर लगायतका नारा सहितका प्लेकार्ड बोकी नाराबाजी गर्दै नेपालको नक्सा भित्र कुशासन र भ्रष्टाचार लेखी हातमा झाडु र कुचो बोकेका पार्टीका नेताहरुले बढारेर फालेका थिए । 

पार्टीका अध्यक्ष रामशरण पाण्डे, वरिष्ठ नेता तथा वरिष्ठ क्याप्टेन के. बि. लिम्वु, उपाध्यक्ष (अर्थविद्) टुलराज बस्याल, महासचिव गोविन्द गिरी लगायतले देशको वर्तमान भ्रष्टाचार, बेथिति, कुशासन, कुव्यवस्थाको कारक वर्तमान सत्तासिन नेतृत्वको घोर जवाफदेहीविहिनताले आज एफएटीएफको प्लेनरी बैठकले सम्पत्ती सुद्धिकरण अपराध र त्यसबाट सम्पत्ती आर्जन गर्ने क्रियाकलापको स्थिती भयावह अनियन्त्रित भएकोले नेपाल जोखिमपूर्ण मुलुकको सूचि (ग्रे लिष्ट) मा परेको र देशको जर्जर अवस्थाको कारक तत्व भ्रष्टाचार र कुशासन नै रहेको भन्ने धारणा राखेका थिए ।

साथै पार्टीका नेताले यो भ्रष्ट संसदीय व्यवस्थाको अन्त्य गरी मुहानबाटै सफा गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरे मात्रै अहिलेको भ्रष्टाचारलाई निराकरण गर्न सकिने विचार व्यक्त गरेका थिए । 

पार्टीले भ्रष्टका सम्पूर्ण अखडा पहिचान गरीसकेको, भ्रष्टाचारका काण्डहरुको फाइल तयार पारिसकेको र ति भ्रष्टाचारका काण्डमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याएर कठघरामा उभ्याउन वर्तमान सरकारलाई दवाव दिने र आनाकानी गरेमा जनकारवाही गरी देश र जनतालाई न्याय, सुशासन, समृद्धि र जनकल्याणको सुनिश्चिता गर्ने बचनवद्धता समेत व्यक्त गरेका थिए । 

कार्यक्रममा जनकवि भोला बरालले देश भक्तिमय कविता बाचन गरेका थिए भने भिमसेन रिसालले राष्ट्रिय मातृभूमि पार्टीको जनसांस्कृतिक सडक नाटक प्रस्तुत गरेका थिए ।