काठमाडौं - भारतको ओडिसास्थित कलिङ्गा ईन्स्टिच्युट ओफ इण्डस्ट्रीयल टेक्नोलोजी कलेजमा नेपाली छात्र मृत भेटिएको र त्यस कलेजमा अध्ययनरत अन्य नेपाली विद्यार्थीले त्यस घटनाको विरोध गर्दा कलेज प्रशासनले प्रहरी, गुण्डा लगाई विद्यार्थीलाई कलेजबाट निकालेको घटना विरुद्ध राष्ट्रीय मातृभूमी पार्टीले प्रेस विज्ञती जारी गरेको छ । 

विज्ञप्तीमा भनिएको छ, "हाम्रो देशका कलिला विद्यार्थीलाई विदेशी अपराधी तत्वबाट यसरी बारंबार प्रहार हुँदा पनि हाम्रो सरकार मुखमा तेल जमाएर बस्नुले देश र जनताको हित र कल्याणतिर भन्दा यो सरकार विदेशीको चाकरी र चाप्लुसीमै समर्पित रहेको तथा विदेशीको लाचार छायाँको रुपमा काम गरिरहेको देखिन्छ ।" 

"विदेशमा विद्या आर्जन गरिरहेका नेपालीलाई उपनिवेशी दास मनोवृत्तिले ग्रस्त कुसंस्कारी र अपराधी मनस्थितिका कुपात्रहरुले नेपाल राष्ट्रको गरिमा र अस्मितामै चोट पुग्ने गरी शब्दवाण र भौतिक आक्रमण हुनुले हाम्रा विद्यार्थी कतिसम्म अन्यायमा परेका रहेछन् र विद्या आर्जन गरिरहेका उनीहरुको बाल मनस्थितिमा कस्तो पीडाको अनुभूति भएको होला अनुमान गर्न गाह्रो छ । त्यसैले, यो र यस्तै दर्दनाक र अमानवीय घटनाबाट पाठ लिँदै संबन्धित वैदेशिक शैक्षिक सँस्थाको विशेषता, वातावरण, शैक्षिक सँस्कार, मर्यादा, अनुशासन र शैक्षिक उत्कृष्टताका पक्षहरुलाई वस्तुगत मिहिन ढँगले केलाई शिक्षा मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्रको आधारमा मात्र भारतमा अध्ययन गर्न जान दिने अनिवार्य व्यवस्था लागु गरियोस् । साथै, स्वदेशमै विभिन्न विधाका गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने वातावरण मिलाई शिक्षामा विदेशी निर्भरता घटाउने तर्फ पनि उचित पहल हुन जोडदार माग गर्दछौँ ।"