काठमाडौं - नेकपा माओवादी केन्द्रले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्मा केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए । उनले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने जनाए । उनका अनुसार तराई क्षेत्रका नागरिकले भोग्नुपरेका समस्याहरुको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।

‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई-मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट सुरु हुँदै छ । त्यो अभियान आउँदो चैत ८ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरी तराई-मधेस जागरण अभियान हुनेछ,’ उनले भने, ‘यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिनेछ । अभियानका क्रममा तराई क्षेत्रका नागरिकले भोग्नुपरेका समस्यामा हामी केन्द्रित हुनेछौं । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौं । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिनेछ । त्यस अवधिभर हामी जनताकै घरमा बस्नछौं ।’

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तर्क्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तर्क्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तर्क्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ ।

फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तर्क्रिया हुने बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तर्क्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तर्क्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए ।

यसैगरी २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।