काठमाडौं - नेपाली काॅग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको प्रस्ट्याए ।
‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसितामा आफ्ना मतहरु राख्ने स्वतन्त्रता छ,’ महामन्त्री थापाले भने । उनले पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा नेपाली कांग्रेससहित अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण छ भन्दै पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुखबन्द गर्न नजाने प्रस्ट पारे ।
महामन्त्री थापाले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि निर्वाचनका माध्यमबाट व्यक्त गर्ने गरेको विचार राखे । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुले गुट-उपगुट नबनाई जनताको सर्वोपरि हित सोचेर काम गर्नुपर्ने सुझाए ।
यस्तै महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरुसँग छलफल गरिरहेको र केही दिनभित्र समझदारी हुने विश्वास जनाए । फरक प्रसंगमा उनले नेपाली कांग्रेसको महाधिवेशनको प्रकिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्र हुने दाबी पनि गरे ।


0 comment