काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले वर्तमान सरकार दुईदलीय व्यवस्थाका नाममा एकदलीय तानाशाही व्यवस्था लागु गर्न खोजेको आरोप लगाए । साना र प्रतिस्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे ।
‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुईदलीयका नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन,’ उनले भने, ‘साना दलहरुलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर-तरिका अपनाएर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा गरिरहेको छ ।’
सरकारले संसद्को नियम र नियमावलीसमेत मिच्ने काम गरिरहेको अध्यक्ष नेपालले आरोप लगाए । उनले वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको समेत उल्लेख गरे । उनले देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहे पनि अपराधीहरु दण्डित नभएको जिकिर गरे । उनले समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।
‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्,’ उनले भने, ‘देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भीरता छैन ।’
उनले पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्लेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।


0 comment