काठमाडौं - गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि व्यवस्थाविरुद्ध देशव्यापी भण्डाफोर अभियान सुरु गर्दैछ ।
पोखराबाट अभियानको सुरुवात गर्न लागेको हो । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्न केन्द्रित हुने अध्यक्ष लिङ्देनले बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिबाट राप्रपा अहिले उत्साहित देखिन्छ । उसले सबै दललाई यो अभियानमा सामेलन हुन पनि आग्रह गरेको छ ।
राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान जारी राख्ने भएको छ । त्यसक्रममा आज गण्डकी प्रदेशको पोखरामा कार्यक्रम गर्दैछ । यस्तै लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते,मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते कार्यक्रम तय भएको राप्रपाले जनाएको छ।


0 comment