काठमाडौं - जलविद्युत् विधेयकको दफा १७ बाहेकका सबै दफा प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफा पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए । उनले विधेयकमा भएको भाषिक त्रुटिलाई अन्तिममा मिलाउने सहमति भएको जनाए । उनले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने बताए ।

उनले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानुन संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने जनाए । ‘आज जलविद्युत् विधेयकमा दफा १७ को बाँकी रह्यो । बाँकी सम्पूर्ण दफाहरु हामीले पास गरेका छौं,’ उनले भने, ‘दफामा नमिलेको भाषिक शुद्धता अन्तिममा मिलाउने गरी सहमति भएको छ । दफा १७ मा तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रको बारेमा ज्यादै छलफल गर्नुपर्ने भएकाले यो विधेयक अर्को बैठकमा राखीकन गहन छलफल गरीकन जलस्रोत विधेयकलाई यो समितिले राष्ट्रहित, जनहित बनाई ६० लाख नेपाली जनताको जुन सेयर छ त्यसलाई पनि संरक्षण गरिकन विधेयकलाई लामो समयसम्म संशोधन गर्नु नपर्ने गरी सदनमा पेस गर्छौं ।’

उनले विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको सेयर संरक्षण गर्ने गरी विधेयक आउने दाबीसमेत गरे ।