काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशले नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

उनले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले सबै देशवासीलाई साथ दिन आह्वान गर्दा केहीले स्वागत गरेका छन् भने ठुला दलका केही नेताहरुले देश हाम्रै मात्र पेवा हो भने जसरी टिप्पणी गरेका छन् ।

संसदको चौंथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भने पूर्वराजा शाहको विज्ञप्तिलाई स्वागत गरेको छ ।अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजाको सन्देशले  राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन्।उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएकोसमेत दाबी गरे ।

राप्रापाले  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने भएको छ ।

यस्तै राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजाको वक्तव्यलाई साहसिक र प्रशंसनीय भनेका छन्। उनले राप्रपाको कार्यसम्पादन समिति बैठक यथाशिघ्र बस्न आवश्यक रहेको बताएका छन्।

तर, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तनलाई कमजोर बनाउन खोजिएको टिप्पणी गरेका छन्।

यस्तै, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजाको वक्तव्यलाई गम्भीर चुनौतीको रूपमा लिएका छन्।

शुभकामना सन्देशले विभिन्न राजनीतिक दलका नेताहरू र विश्लेषकहरूबीच बहस र छलफलको वातावरण सिर्जना गरेको छ।  जसले नेपालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ दृष्टिकोण ल्याएको राजनीतिका जानकारहरु बताउँछन्।