काठमाडौं - नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निर्णय गरेको छ ।
हिजो बेलुका अबेर बसेको मन्त्रिपरिषद बैठकमा भैरहवाकी प्रकृति लम्सालको भारतको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे हिजोको बैठकमा छलफल भएको बताईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराउनुभएको थियो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको थियो । उहाले दिल्लीस्थित दूतावासबाट दुई जनाको टोलीलाई घटनाबारे यथार्थ जानकारी लिन ओडिसा पठाईएको जानकारी समेत गराउनुभएको बताईएको छ ।
यसैगरी शिक्षा मन्त्री विद्या भट्टराईले ओडिसाको घटनाबाट प्रभावित विद्यार्थीहरुलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको जानकारी गराउनुभएको थियो ।
आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययनरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।


0 comment