काठमाडौं - गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको बताएका छन् ।
बागमती प्रदेश राजधानी हेटौँडामा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ उद्घाटन गर्दै उनले सोही उद्देश्यका साथै मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्तासमीकरण बनेको बताए ।
निजी क्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको भन्दै उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताए ।
सरकारले व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन सुरु गरिसकेको जानकारी दिदै बाँकी रहेको बक्यौता पनि तत्काल दिने बताए ।
उनले निर्माण व्यवसायीहरूको सुरक्षामा सरकार प्रतिबद्ध रहेको भन्दै निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा हेटौँडा- १०, टिसिएन चौरमा सुरु भएको मेला यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा नवीनतम निर्माण उपकरण तथा सामग्री, स्थानीय तथा राष्ट्रिय कम्पनीका साथै बहुर्राष्ट्रिय कम्पनीका औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामग्री, महिला उद्यमीद्वारा उत्पादित सामग्री बिक्री- वितरणका लागि राखिएका छन् ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, घरजग्गा, अटो, खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवं बिक्रीलगायत कार्यक्रम रहेका छन् ।


0 comment