नेपाल बैंकले डेनिस क्रोनर बैंक नोट सटही गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै आफूसँग भएको यस्तो नोट सटही गर्न आह्वान गरेको हो ।

राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, ‘डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर (डीकेके) बैंक नोटहरू आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र प्रचलित व्यवस्था बमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनी चेन्जरहरूबाट सटही गर्नु/गराउनु हुन सम्बन्धित सबैका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ ।’

२०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात् त्यस्ता बैंक नोटहरू सटही गर्न यस बैंक लगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनी चेन्जरहरू र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरू बाध्य नहुने व्यहोरासमेत सहित सम्बन्धित सबैको जानकारीका लागि राष्ट्र बैंकले सूचना प्रकाशन गरेको छ । ‘कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटहरूसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।