नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाले परियोजना छनौट गर्दा स्थानीय समुदायको आवश्यकता अनुसार गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित एक गोष्ठीमा सभापति देउवाले गैरसरकारी संस्थाहरुको सामाजिक विकासमा महत्वपुर्ण भूमिका रहेको बताए।
उनले नेपालमा सामाजिक सेवा गर्ने संस्थाको स्थिति र विकास फरक–फरक रहेको चर्चा गर्दै, यी संस्थाले समय र सन्दर्भ अनुसार सामाजिक न्याय, लोकतन्त्र, मानवअधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगिकार गर्दै सरकारको सहयोगीको रूपमा काम गरिरहेको बताए।
सभापति देउवाले गैरसरकारी संस्थाहरुमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्रको महत्त्व थप जोड दिए। साथै, जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिरहेकोमा चिन्ता व्यक्त गर्दै, हिमाल जोगाउने अभियानमा गैरसरकारी संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावलले गोष्ठीमा गैरसरकारी संस्थाको रोजगारी प्रवर्द्धन, आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव र हालका चुनौतीहरूको बारेमा धारणा राखेका थिए।


0 comment