उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसाबले युवापुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको धारणा राखे ।
नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने उनको भनाइ छ । उनले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताए । कुनै पनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्न नेपालमा स्वतन्त्रता रहेको महसुस गरेर देश विकासमा लाग्न आग्रह गरे ।
‘धेरै कुरा गर्नुभन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेन्ड, नेपालमा बसेर के हुन्छ ? भन्ने कुरा छ । यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपर्चुनिटिज छ । फ्रिडम छ । अघि बढ्न एजुकेसन, अर्ट एन्ड कल्चर, बिजनेस गर्न अवसर छ,’ उनले भने, ‘यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसाबले लाग्नुस् ।’
उपप्रधानमन्त्री सिंहले कुनै पनि देशहरु हजारौँ वर्षको मिहिनेत र परिश्रमबाट नै विकासित हुने बताए ।


0 comment