काठमाडौं - प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा सांसदहरूले सोधेका कतिपय प्रश्नको जवाफ दिए भने केहीलाई उल्टै प्रश्न गरे । यतिमात्र होइन प्रधानमन्त्री ओलीले केहीको त प्रश्नहरूको उत्तर नै दिएनन्। प्रधानमन्त्रीको यो शैलीको विभिन्न कोणबाट व्याख्या र विश्लेषण भईरहेको छ ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा त्यो नै नभएपछि कार्यक्रमको गरिमा कस्तो रहला भन्ने प्रश्न पनि उब्जिएको छ ।प्रधानमन्त्रीले सबै प्रश्नको उत्तर नदिएर आफ्नो गरिमा घटाए की संसद्को भन्ने प्रश्न पनि उठेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीलाई ओलीसँग चार प्रश्न गरेका थिए।
‘तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन् भने पालिका अस्पतालहरू कतिका जग मात्र बसेका छन्, कतिका पिलरमात्र अस्थिपञ्जर जस्तै उभिएका छन्,’ सांसद ज्वालाको प्रश्न थियो, ‘रणनीतिक सडकहरू र पालिका अस्पतालहरूको लागि बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ?’
प्रधानमन्त्रीको सचिवालयले सांसद ज्वालाको प्रश्नमा ओलीले दिएको उत्तरको लिखित जवाफ सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको छ।
‘मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरूको आवश्यकता महसुस गरी सोको निर्माणको सुरुवात गरेको थिएँ तर, त्यसको केही महिनापछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ,’ प्रधानमन्त्रीले जवाफमा भनेका छन्, ‘त्यसपछि आउने सरकारहरूले ती कार्यक्रमहरू रद्द गरे, निर्माण रोकियो। प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो जस्तो लाग्छ। कार्यक्रम रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ।’
आफैले ती कार्यक्रम रद्द गरेर प्रगति खोजेको भन्दै ओलीले खासमा सांसद ज्वालामाथि व्यंग्य गरेका हुन्।


0 comment